
झापा, ११ जेठ । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप अन्तरगत आज भएको खेलमा साविक विजेता बिर्तामोड युनाइटेड क्लब विजयी भएको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३३ औँ मिनेटमा बिर्तामोडका प्रदीप बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै, खेलको ६७ औँ मिनेटमा आशिष चापागाईंले गोल गर्दै खेल २–० को अवस्था पुर्याए । खेलको ७४ औँ मिनेटमा गाईघाट सुनिल खड्काले गोल गर्दै गोल अन्तर २–१ को अवस्था झारेका थिए । खेलको ७५ औँ मिनेटमा बिर्तामोडमा आशिष चापागाईँले पुन गोल गर्दै खेललाई ३–१ गोल अन्तरमा पुर्याएका थिए । खेलको म्यान अफ द म्याच विजेता टिम बिर्तामोडका कप्तान आशिष चापागाईं घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । २०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोली हानी हत्या गरिएको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।


