
झापा, १७ जेठ । बिर्तामोडमा सडक किनारमा घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलामको फाकफोकथुम गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–१ बस्दै आएका अन्दाजी ४५ वर्षीय राजकुमार थेगिम रहेका छन् ।
प्रहरीका अनुसार थेगिम घरबाट कसैलाई जानकारी नगराई हिँडेका थिए । खोजतलासका क्रममा शनिबार राति करिब ८ः४५ बजे बिर्तामोड–३ आदर्शचोकस्थित सडक किनारमा चिउँडोमा सामान्य चोट लागेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएपछि इलाका प्रहरी कार्यालय बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि बिर्तामोड नगर अस्पताल पठाएको थियो । उपचारकै क्रममा राति ९ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा थेगिमले अत्यधिक मदिरा सेवन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


