
झापा, २८ जेठ । चार वर्षको प्रतीक्षापछि फिफा विश्वकप फुटबलको २३औँ संस्करण आजबाट सुरु हुँदैछ । पहिलोपटक तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् । मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलोपटक ४८ टोली सहभागी छन्। यसअघि विश्वकपमा ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए । समूह ‘ए’ मा रहेका मेक्सिको र दक्षिण अफ्रिका दुवै विजयी सुरुआत गर्ने लक्ष्यमा छन् । यसअघि सन् २०१० को विश्वकपको उद्घाटन खेलमा पनि यी दुई टोली भिडेका थिए। उक्त खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
मेक्सिको सन् १९९४ यता विश्वकपको पहिलो खेलमा पराजित भएको छैन । यो उसको १८औँ विश्वकप सहभागिता हो। विश्वकपको उपाधि जित्न नसके पनि मेक्सिकोले सर्वाधिक ६० खेल खेलेको छ। मेक्सिकोको उत्कृष्ट प्रदर्शन सन् १९७० र १९८६ मा घरेलु मैदानमा भएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्नु हो ।
दक्षिण अफ्रिकाले भने चौथोपटक विश्वकपमा सहभागिता जनाउँदैछ । हालसम्म विश्वकपमा नौ खेल खेलेको दक्षिण अफ्रिकाले दुई खेल जितेको छ। सन् २०१० पछि पहिलोपटक विश्वकपमा फर्किएको दक्षिण अफ्रिका उद्घाटन खेलबाट सुखद सुरुआत गर्ने लक्ष्यमा छ ।


