भद्रपुर, ५ असार । झापाको भद्रपुर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय–अभिभावक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरेको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगर क्षेत्रका ९ वटा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको उक्त कार्यक्रम जेठ २५ गते हिमाली माध्यमिक विद्यालयबाट शुभारम्भ भई असार ३ गते पुहाँतुजनज्योति माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो । नौ दिनसम्म सञ्चालन भएको कार्यक्रममा ६२४ जना अभिभावकको सहभागिता रहेको नगरपालिकाले जनाएको छ । कार्यक्रमका सहजकर्ता इलामका शैक्षिक प्रशिक्षक पूर्णप्रसाद गौतम रहनुभएको थियो । नगर क्षेत्रका ८ वटा विद्यालयमा नगरप्रमुख गणेश पोखरेलले अभिभावकँसग अन्तरक्रिया समेत गर्नुभएको थियो ।

कार्यक्रममा अभिभावक र विद्यालयबीच सकारात्मक सम्बन्ध विकास गर्ने, घरमा बालबालिकासँग अभिभावकले अपनाउनुपर्ने व्यवहारबारे जानकारी दिने, विद्यार्थीमा अध्ययनप्रति रुचि बढाउन अभिभावकको भूमिका स्पष्ट पार्ने, सामुदायिक विद्यालयको विकासमा अभिभावकको दायित्वबारे सचेत गराउने तथा शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यको महत्वबारे प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रम हिमाली माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, सगरमाथा माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, भद्रपुर माध्यमिक विद्यालय, वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रभानुज्योति माध्यमिक विद्यालय, पशुपतिनाथ आधारभूत विद्यालय र पुहाँतुजनज्योति माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो।
कार्यक्रम सम्पन्न भएपछि भद्रपुर नगरपालिकाको सभाहलमा नगर क्षेत्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा समीक्षा कार्यक्रमसमेत आयोजना गरिएको थियो। समीक्षा कार्यक्रममा विद्यालयस्तरमा देखिएका सकारात्मक प्रभाव, अभिभावकको उत्साहजनक सहभागिता तथा आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
नगरपालिकाले आगामी शैक्षिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा अभिभावक शिक्षा समन्वय समिति गठन गरी नियमित रूपमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। यसले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध अझ बलियो बनाउँदै सामुदायिक विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
भद्रपुर नगरपालिकाले अभिभावकलाई विद्यालयको अभिन्न साझेदारका रूपमा स्थापित गर्दै शिक्षाको गुणस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


