झापा, ५ असार । झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा घरायसी विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् ।
आज बिहान ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए । घाइते गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ। उनको पेटमा चोट लागेको भए पनि बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।
घटना लगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामा गई हाम्फालेका थिए । हाम्फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो । उनलाई पनि उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा घिरेन राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।


