झापा, ७ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको सचिव पदको आगामी डेढ वर्षे कार्यकालका लागि प्रदीप परियारले कार्यभार सम्हाल्नु भएको छ ।
पत्रकार महासंघको कार्यालयमा आज भएको बैठकमा महासंघको डेढ वर्षे कार्यकाल पूरा गर्नुभएका सचिव राजु पाठकले आज सचिव परियारलाई माइन्युट हस्तान्तरण गर्नुभयो । पत्रकार महासं झापाको तीन वर्षे कार्यकालका लागि २०८१ मंसिर २८ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याउनुभएको थियो । पहिलो डेढ वर्षे कार्यकालका लागि पाठकले र दोस्रो कार्यकाल परियारले सम्हाल्ने निर्वाचन समितिको निर्णय गरेको थियो ।
बैठकमा महासंघका पदाधिकारी एवम् सदस्यहरुले महासंघको हरेक गतिविधि एवम् कार्यक्रममा सचिव पाठकले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । महासंघका अध्यक्ष एकराज गिरीले खादा लगाएर सचिवद्वय पाठक र परियारलाई स्वागत एवम् बिदाई गर्नुभएको थियो ।
सचिव पाठकले आफूले डेढ वर्षे कार्यकाल पूरा गरिरहँदा सबैको साथ सहयोग पाएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत महासंघको हरेक गतिविधिमा सक्रियताका साथ लाग्ने बताउनुभयो । सचिव परियारले महासंघलाई थप रचनात्मक बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


