
झापा, ११ असार । झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवा खोला पुल नजिक आज साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ।
रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको मिक्स गिट्टी बोकेको ट्रिफरले पैदलयात्री बिर्तामोड–३ निवासी किशोर चापागाईंकी १० वर्षीया छोरी अनुकृति चापागाईंलाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएकी अनुकृतिलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको भए पनि चिकित्सकले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए । मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रिफर चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ।
घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् । घटनास्थलमा करिब ४०० जना स्थानीयको भीड जम्मा भएको छ भने बिर्ताबजार प्रहरी चौकीमा समेत करिब १५० जना भेला भएर घेराउ गरेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।
स्थिति नियन्त्रणमा लिन प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी निरीक्षक नरबहादुर गौतमको कमाण्डमा चार जनाको टोली तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब उपरीक्षक सन्तोष पाठकको कमाण्डमा ३५ जनाको टोली खटिएको छ ।(((


