
झापा, १४ असार । झापाको बिर्तामोड नगरपालिका–५ स्थित हनुमान कम्प्लेक्स क्षेत्रमा १८ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार असार १३ गते राति करिब ९ बजे सांकेतिक नाम ‘५९ अनारमनी ०८२–०८३’ दिइएकी १८ वर्षीया किशोरीमाथि बिगेन्द्र भन्ने व्यक्तिले जबर्जस्ती करणी गरी फरार भएको आरोप छ । घटनापछि पीडितले सोही राति करिब ११ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेर मौखिक जानकारी गराएकी थिइन् ।
प्रहरीले पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । त्यसपछि असार १४ गते बिहान करिब ३ बजे पीडितलाई बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा इलामको पशुपतिनगर नगरपालिका–२ घर भई हाल बिर्तामोड–५ सुब्बाचोकमा दिदी–भिनाजुको घरमा बस्दै आएका ३६ वर्षीय बिगेन्द्र शेर्पालाई असार १४ गते बिहान करिब १०ः४५ बजे पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका शेर्पामाथि जबर्जस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


