
बिर्तामोड, १५ असार । झापाको बिर्तामोड-५ स्थित कनकाई हस्पिटल २१औँ वर्षमा प्रवेश गरेको छ। दुई दशकको सेवा यात्रामा अस्पतालले लाखौं बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।
विगत २० वर्षमा ३ करोड ६५ लाख ६६ हजार ६७० जनाले ओपिडी सेवा लिएका छन् भने ३ करोड ४७ लाख ४९ हजार ४४० वटा प्रयोगशाला (ल्याब) सेवा लिएका छन् । यस अवधिमा २ लाख ५८ हजार ५५५ जनाले आकस्मिक सेवा, ३ लाख ३ हजार २४६ जनाले फिजियोथेरापी सेवा लिएका छन्।
त्यस्तै, ५९ हजार १९९ वटा मेजर र ५५ हजार ७६७ वटा माइनर शल्यक्रिया सेवा लिएको आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष युवराज डाँगीले जानकारी दिनुभयो ।
सोही अवधिमा ४२ हजार ९९७ बिरामी भर्ना भएर उपचार गराएका छन् भने १४ हजार ८९८ जनाले प्रसूति सेवा लिएका छन् ।
२१औँ वर्ष प्रवेशको अवसरमा अस्पतालले बिरामीका लागि विभिन्न विशेष सुविधा घोषणा गरेको छ। आजदेखि एक सातासम्म सम्पूर्ण ओपिडी सेवा निःशुल्क उपलब्ध गराइने तथा उपचार र परीक्षण सेवामा १० प्रतिशत विशेष छुट दिइने अस्पतालले जनाएको छ ।
सेवा विस्तारअन्तर्गत अस्पतालले निकट भविष्यमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढिसकेको अध्यक्ष डाँगीले बताउनुभयो । बिरामीको सहजताका लागि चारतले भवनमा आधुनिक लिफ्ट जडान गरी छिट्टै सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।
अस्पतालका डा. सशंकराज पोख्रेलले अस्पतालमा दैनिक २५-३० जना लागू औसत सेवनकर्ताहरू उपचारका लागि आउने गरेकोबताउनुभयो । उहाँले ८० देखि ८५ प्रतिशत लागू औषध प्रयोगकर्ता बिरामीको सफल उपचार हुने गरेको जानकारी दिनुभयो ।
अस्पतालले विभिन्न विधाका दक्ष तथा अनुभवी विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्याएको छ।
दीर्घकालीन योजनाअन्तर्गत बिर्तामोड–६ बुट्टाबारीस्थित आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न नयाँ अस्पताल भवन निर्माण गरी सेवा विस्तार गर्ने तयारी समेत भइरहेको अस्पतालले जनाएको छ ।
पत्रकार सम्मेलनमा डा. रितेश थपलिया, डा. रबिन रेग्मी, अस्पताल सञ्चालक समिति सदस्य खेमराज बानिया, राजकुमार राई लगायतले अस्पतालका सेवा सुविधाबारे जानकारी दिनुभएको थियो। पत्रकार सम्मेलनको सहजीकरण हस्पितलका बजार व्यवस्थापक पंकज शर्माले गर्नुभएको थियो ।


