
झापा, १७ साउन । झापाको शिवसताक्षी नगरपालिका–दुधे बजारको उत्तरतर्फ पानीट्याङ्की नजिक डाँडाको जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–दानाबारी निवासी अन्दाजी २९ वर्षीय विकल गहतराज रहेका छन् । स्थानीयवासी र प्रहरीको सहयोगमा गहतराजलाई उद्धार गरी तत्काल दमक अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गहतराज डाँडाबाट तल रहेको खोचमा अचेत अवस्थामा फेला परेका थिए। जंगलबाट एकोहोरो कराएको आवाज सुनेपछि स्थानीयवासी घटनास्थल पुगेका थिए ।
स्थानीय राजु दंगालका अनुसार गहतराज छटपटाइरहेको अवस्थामा भेटिएपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा उद्धार गरी अस्पताल पठाइएको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा उनले विष सेवन गरेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । घटनास्थलभन्दा माथिल्लो भागमा एउटा मोटरसाइकल, हेल्मेट र तौलिया फेला परेको पनि प्रहरीले जानकारी दिएको छ ।
घटनाको वास्तविक कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


