
झापा, २६ असार । कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको बोस्टनस्थित स्टेडियममा शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स अन्तिम चारमा पुगेको हो।
पहिलो हाफमा पेनाल्टीको अवसर सदुपयोग गर्न नसकेका एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलको ६०औँ मिनेटमा फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि एमबाप्पेकै पासमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता २–० बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स विजयी बन्यो।
यससँगै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २०२२ मा उपविजेतामा सीमित भएको थियो।
अब फ्रान्सले सेमिफाइनलमा बेल्जियम र स्पेनबीचको क्वाटरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


