
झापा, ३१ असार । झापाको मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रमा खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूमाथि जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ का ३० वर्षीय मो. सदाम हुसेन, भारतको बिहार राज्य किशनगञ्जस्थित दोहाबारी पनासिहाटका स्थायी बासिन्दा भई हाल बिर्तामोड–५ बस्दै आएका १९ वर्षीय मुबारक अली तथा इलामको फाकफोकथुम गाउँपालिका–३ का ४१ वर्षीय रमेश थेगिम रहेका छन् ।
प्रहरीका अनुसार मो. सदाम हुसेन र मुबारक अलीको साथबाट प्लास्टिकसहित ४ ग्राम ४७० मिलिग्राम (प्लास्टिक बाहेक ३ ग्राम २८० मिलिग्राम) तथा रमेश थेगिमको साथबाट प्लास्टिकसहित ३ ग्राम ४४० मिलिग्राम (प्लास्टिक बाहेक २ ग्राम ८०० मिलिग्राम) खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको छ ।
बरामद लागुऔषधको कुल परिमाण प्लास्टिकसहित ७ ग्राम ९१० मिलिग्राम र प्लास्टिक बाहेक ६ ग्राम ८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


