
झापा, २ साउन । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १ बजे गौरीगञ्ज–२, कृष्णखोला छेउस्थित हुलाकी राजमार्गमा पश्चिम विराटनगरबाट पूर्व तुलाचनचोकतर्फ आउँदै गरेको प्र१–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई–५, गोविन्दपुर बस्ने ३० वर्षीय मोहम्मद नुर इस्लाम र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हक गम्भीर घाइते भएका थिए ।
मोटरसाइकल चालक इस्लामलाई दिउँसो २ः३७ बजे दमक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । त्यस्तै, गम्भीर घाइते हरुलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले जाँच गर्ने क्रममा दिउँसो ३ः१३ बजे मृत घोषणा गरेका हुन् ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाएको थियो । प्रहरीले कारलाई नियन्त्रणमा लिएको छ । कार चालक विराटनगर–१३ बस्ने ३५ वर्षीय विवेक सिंह पनि घाइते भएका छन् । उनको विराट नर्सिङ होम, विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


