
इलाम, २ साउन । अविरल वर्षाको पूर्वानुमानपछि इलाम जिल्लामा दुई रात सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले शुक्रबार सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा साउन २ र ३ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभित्रका सबै सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जनाएको हो ।
प्रशासनका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। इलाम जिल्ला पनि उच्च जोखिम क्षेत्रमा परेकाले जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । यो निर्णय मेची राजमार्ग, मेची करिडोरसहित जिल्लाका सबै सडकमा लागू हुने प्रशासनले जनाएको छ । वर्षाको अवस्थालाई निरन्तर निगरानी गर्दै आवश्यकताअनुसार थप निर्णय गरिने प्रशासनले उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।



