
झापा, ३ साउन । फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकप–२०२६ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । इंग्ल्यान्डविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गरेसँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्याएका हुन् ।
यद्यपि उक्त खेलमा फ्रान्स ६–४ गोलअन्तरले पराजित हुँदै चौथो स्थानमा सीमित भयो भने इंग्ल्यान्डले तेस्रो स्थान हासिल गर्यो ।
इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल थपेपछि एमबाप्पेले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २२ पुर्याएका छन्। यससँगै उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा अग्रता बनाएका छन्। मेसीको नाममा हाल २१ गोल रहेको छ। यद्यपि उनले स्पेनविरुद्धको फाइनल खेल खेल्न बाँकी छ।
जारी विश्वकपमा पनि एमबाप्पेले १० गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रता लिएका छन्। मेसीले हालसम्म ८ गोल गरेका छन् र फाइनलमा उनको प्रदर्शनले गोल्डेन बुटको प्रतिस्पर्धामा प्रभाव पार्न सक्नेछ।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन बुट’ व्यक्तिगत पुरस्कारका लागि यसपटक पनि एमबाप्पे प्रमुख दाबेदार बनेका छन्। उनले सन् २०२२ को विश्वकपमा पनि गोल्डेन बुट जितेका थिए र यस संस्करणमा समेत सो उपलब्धि दोहोर्याउने सम्भावना बलियो देखिएको छ।


