
भद्रपुर, ३ साउन । जिल्ला प्रशासन कार्यालय झापाले लगातार भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार कोशी प्रदेशका विभिन्न स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ। झापा पनि उच्च जोखिममा रहेकाले बाढी, डुबान र पहिरोजस्ता मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा भारी वर्षाका बेला सवारीसाधन सञ्चालन वा यात्रा गर्नुपरे सुरक्षा निकायसँग समन्वय गरेर मात्रै आवागमन गर्न आग्रह गरेको छ।
सूचनामा जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, स्वयंसेवक तथा सम्बन्धित सबै निकायलाई विपद् प्रतिकार्यका लागि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा स्थानीय तह र निर्माण व्यवसायीलाई डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ।
नदी तथा खोलाको किनार, बाढी र पहिरोको जोखिम भएका बस्तीका बासिन्दालाई विशेष सतर्कता अपनाउन, आवश्यक परे सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न प्रशासनले आग्रह गरेको छ। जोखिमको अवस्था बढेमा प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।
आपत्कालीन अवस्थाका लागि विपद् सहायता नम्बर ११४६, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला विपद् व्यवस्थापनका सम्पर्क नम्बरमा जानकारी वा सहयोगका लागि सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।


