
बिर्तामोड, ३ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा शिवाकोटीले पार्टीको केन्द्रीय समितिले १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा महिलालाई प्राथमिकतामा राखेर अवसर दिने ऐतिहासिक निर्णय गरेको बताउनुभएको छ।
नेपाल महिला संघ झापाको आयोजनामा आज बिर्तामोडमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले जनप्रतिनिधि तथा पार्टीका विभिन्न जिम्मेवारीमा पुग्न महिलाले आत्मविश्वासका साथ अघि बढ्नुपर्ने र आफ्नो क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो।
उहाँले पार्टीमा निरन्तर संघर्ष, सक्रियता र जनतासँगको सम्बन्धका आधारमा मात्रै अवसर प्राप्त हुने उल्लेख गर्दै नेतृत्वको चाकडीभन्दा क्रियाशील सदस्य र जनताको मन जित्ने कार्यमा केन्द्रित हुन आग्रह गर्नुभयो। पार्टीको नीति नै जनताको विश्वास जित्नेलाई नेतृत्वमा पुर्याउने भएकाले जनमुखी गतिविधिमा सक्रिय हुन उहाँले जोड दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले क्रियाशील सदस्यता वितरणमा झापामा महिलाको सहभागिता सन्तोषजनक रहेको बताउँदै पार्टीले लैङ्गिक आधारमा अवसरमा कुनै विभेद नगरेको स्पष्ट पार्नुभयो। उहाँले पार्टी तथा भ्रातृ एवं शुभेच्छुक संघ–संगठनलाई सक्रिय बनाउन र आशावादी भएर अवसरको खोजी गर्न आग्रह गर्नुभयो।
नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा ‘जरा अभियान’का लागि महिला संघकी केन्द्रीय प्रतिनिधि बविता लिङ्देनले लोकतन्त्रको आधार निर्वाचन भएकाले महिला संघको निर्वाचनबारे छिट्टै निर्णय हुने जानकारी दिनुभयो। उहाँले युवा र महिलाका पक्षमा पार्टीले गरेको निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै कांग्रेसका नयाँ नीति, योजना र सन्देश गाउँ–गाउँसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, नेपाल महिला संघकी केन्द्रीय सदस्य मन्धरा चिमरिया पौडेलले आगामी साउन १० गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकले महिला संघको निर्वाचनसम्बन्धी निर्णय गर्ने बताउँदै कार्यकर्तालाई आशावादी भएर तयारीमा जुट्न आग्रह गर्नुभयो।
नेपाल महिला संघ झापाकी अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, नेपाल महिला संघकी केन्द्रीय सदस्य राधा कार्की, महासमिति सदस्य शर्मिला अधिकारी, महाधिवेशन प्रतिनिधि रमा लिम्बू, क्षेत्रीय अध्यक्षहरू रचना घिमिरे, उर्मिला गौतम, गोमा बुढाथोकी, यशोदा उप्रेती, सीता बास्कोटा र लिला कटुवाललगायतले आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन नेपाल महिला संघ झापाकी सहसचिव गीता ओडारी खरेलले गर्नुभएको थियो।


