
झापा, ४ साउन । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। स्पेनले यसअघि सन् २०१० मा पहिलोपटक विश्वकप जितेको थियो।
अमेरिकाको न्युयोर्क महानगर क्षेत्रस्थित न्युजर्सीको स्टेडियममा सोमबार बिहान सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलविहीन बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
स्पेनका फेर्रान टोरेज ले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई १–० को ऐतिहासिक जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेन विश्वविजेता बन्न सफल भयो।
अर्जेन्टिनाले खेलको निर्धारित समयमा एन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा विजयी गोल गरेको हो।
यसअघि सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने स्पेनले फ्रान्सलाई २–० ले हराएर उपाधि भिडन्तमा स्थान बनाएको थियो।
२०१० पछि दोस्रोपटक विश्वकपको उपाधि जितेसँगै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व पुनः स्थापित गरेको छ।


