
झापा, ४ साउन । झापाको दमक नगरपालिका–१ हवल्दार चोकस्थित एक टपरी होटलबाट प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला इलाम चुलाचुली गाउँपालिका–४ पालिका टोल निवासी ३५ वर्षीय पूर्णकुमार राईलाई लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले आइतबार साँझ पक्राउ गरेको हो।
प्रहरीका अनुसार होटलभित्र खाजा खाने टेबलमा बसेका राईको शरीर खानतलासी गर्दा उनले लगाएको ज्याकेटको अगाडिको दाहिने गोजीभित्र टिस्यु पेपरमा पोका–पोका पारेर लुकाइराखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो।
बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित २४ ग्राम ८१० मिलिग्राम तथा प्लास्टिकबाहेक २२ ग्राम १५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले राईको साथबाट Redmi कम्पनीको एउटा मोबाइल फोन (सिम नं. ९७४५२५९५२८ प्रयोग भएको) र मे १० प ३९७० नम्बरको २२० सीसी पल्सर मोटरसाइकल पनि बरामद गरेको छ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखी लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


