
झापा, ४ साउन । झापाको मेचीनगर नगरपालिका–१५ कालिका स्थित भित्री सडकमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
बिहान करिब १०ः४५ बजे काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेश ०१–००२ झ ७३६० नम्बरको स्कार्पियो एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा सिटी सफारीमा सवार मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा बिहान ११ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि फरार भएको स्कार्पियो गाडी र चालकलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले बिहान ११ः५० बजे मेचीनगर–४ बाहुनडाँगीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने चालक भद्रपुर नगरपालिका–१० निवासी ५४ वर्षीय लिला श्रेष्ठ हुन्।
सिटी सफारी चालक मेचीनगर–६ निवासी ४५ वर्षीय गम्भीर प्रसाद बातर तथा सिटी सफारी प्रहरी चौकी ज्यामीरगढीको नियन्त्रणमा रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


