
झापा, ४ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको रतुवा खोलामा निर्माणाधीन आधुनिक ‘ल्याण्डमार्क ब्रिज’ को काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ।
५ सय ८५ मिटर लामो यो पुल आधुनिक आर्च स्टिल ट्रस प्रविधिमा निर्माण भइरहेको हो। पुलको चौडाइ १६.५ मिटर रहनेछ भने डबल लेन, सर्भिस लेन र फुटपाथको सुविधा हुनेछ।
काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिका अनुसार पुल निर्माणमा उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ। हाल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ भने सन् २०२७ फेब्रुअरी २ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।
करिब ८० वर्ष आयु हुने अनुमान गरिएको यो पुल सञ्चालनमा आएपछि हालको पुरानो पुलको विकल्प बन्नुका साथै पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।


