
झापा, ५ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान ६:२५ बजेसम्म देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। हाल कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा पानी परिरहेको छ।
महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार गएको २४ घण्टामा सबैभन्दा बढी वर्षा झापाको अनारमनी–बिर्तामा ९१.२ मिलिमिटर मापन गरिएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा तथा कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोसी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।


