
झापा, ५ साउन । झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं कर्मचारी मिलन केन्द्र झापाका सल्लाहकार संयोजक उमेशप्रसाद लुइटेलको काठमाडौं जिल्ला अदालतमा सरुवा भएपछि कर्मचारी मिलन केन्द्र झापाले विदाइ कार्यक्रम आयोजना गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय झापामा आयोजित ‘विदाइ तथा फेरि भेटौँला’ कार्यक्रममा प्रमुख न्यायाधीश लुइटेललाई सम्मानसहित बिदाइ गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख न्यायाधीश लुइटेलले झापामा करिब २२ महिना कार्यरत रहँदा अदालतको न्याय सम्पादन प्रक्रियामा कार्यालय प्रमुखहरूबाट अपेक्षाअनुसार समन्वय र सहयोग प्राप्त भएको बताए। उनले न्यायाधीशलाई राज्यले सुम्पिएको निर्वाचनसम्बन्धी जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न कर्मचारी वर्गबाट उल्लेखनीय सहयोग प्राप्त भएको उल्लेख गर्दै सबैप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले लुइटेलको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
कर्मचारी मिलन केन्द्र झापाका अध्यक्ष सागर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रका महासचिव तथा कारागार कार्यालय झापाका प्रमुख रेवन्त भट्टराईले गरेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा कर्मचारी मिलन केन्द्रले जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई पनि विदाइ गरेको थियो।
झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतका अनुसार कर्मचारी मिलन केन्द्र झापा, जिल्ला तथा स्थानीय तहमा कार्यरत निजामती र सार्वजनिक सेवाका कर्मचारीद्वारा गठन गरिएको स्वतन्त्र, गैरराजनीतिक तथा साझा संस्था हो। यसको उद्देश्य कर्मचारीहरूबीच भाइचारा, एकता र आपसी सद्भाव अभिवृद्धि गर्नु रहेको छ। केन्द्रको संरचनाअनुसार जिल्ला न्यायाधीश सल्लाहकार संयोजक तथा प्रमुख जिल्ला अधिकारी संरक्षक रहने व्यवस्था छ।


