
झापा, ६ साउन । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट ५२ जिल्ला प्रभावित भएका छन् ।
सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको अवधिमा विपद्का कारण दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार उक्त अवधिमा १७ वटा पहिरो, १० वटा अविरल वर्षाका घटना, आठ वटा सर्पदंश, सात वटा आगलागी, छ वटा बाढी, दुई वटा भूकम्प, तथा चट्याङ र जनावरको आक्रमणका एक–एक वटा घटना दर्ता भएका छन् ।
विपद्का कारण करिब रु १० लाख ७४ हजार ५०० बराबरको आर्थिक क्षति भएको छ। साथै, सात स्थानमा सडक अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रतर्फ नजान, मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायको सूचनालाई पालना गर्न पनि प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।


