
बिर्तामोड, ६ साउन । झापाको बिर्तामोड–३ स्थित विराट पोखरी परिसरमा अनारमनी सोसल युथ क्लबको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फूल रोपण, फुटबल किट, डस्टबिन तथा सरसफाइ सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
ICFC Finance Ltd. को सहयोगमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन रुपेश तिम्सिनाले गरेका थिए।

वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा खेलकुदको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विराट पोखरी परिसरमा फूल रोपण गरिएको थियो। साथै सरसफाइका लागि डस्टबिन र आवश्यक सामग्री वितरण गर्नुका साथै स्थानीय युवाहरूलाई फुटबल किट हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमले वातावरण संरक्षण, सरसफाइको संस्कृतिको विकास तथा युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।


