
भद्रपुर, ६ साउन । जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा कुल ७ हजार ५४९ वटा मुद्दामध्ये ४ हजार ५३५ वटा मुद्दा फर्छ्यौट गर्दै ६०.०२ प्रतिशत फर्छ्यौट दर हासिल गरेको जनाएको छ।
अदालतले यस वर्ष ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको भए पनि विभिन्न कारणले ६०.०२ प्रतिशतमा सीमित भएको प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेलले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ३ हजार २३२ र चालु आर्थिक वर्षमा दर्ता भएका ४ हजार ३१७ गरी कुल ७ हजार ५४९ मुद्दामध्ये ३ हजार १४ वटा मुद्दाको फैसला हुन बाँकी रहेको छ।
उत्कृष्ट कार्यसम्पादनका आधारमा न्यायाधीश पारसमणि पोखरेललाई सम्मान गरिएको छ। उनका इजलासबाट आर्थिक वर्ष २०८२/८३ मा ६२७ वटा मुद्दाको फैसला भएको अदालतले जनाएको छ।

प्रमुख न्यायाधीश लुइटेलले गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलन, त्यसबाट अदालतको केस म्यानेजमेन्ट सिस्टम (CMS) मा परेको अवरोध तथा संघीय संसदको निर्वाचनलगायत कारणले लक्ष्यअनुसार मुद्दा फर्छ्यौट गर्न कठिनाइ भएको उल्लेख गर्दै न्यायाधीश तथा कर्मचारीहरूको योगदानप्रति धन्यवाद व्यक्त गरे।
उनले २०६१ सालदेखि लागू गरिएको न्यायपालिकाको रणनीतिक योजनाअन्तर्गत हाल पाँचौं रणनीतिक योजना कार्यान्वयनमा रहेको जानकारी दिँदै झापा जिल्ला अदालतले निष्पक्ष, छिटोछरितो र सरल न्यायसम्पादन, मेलमिलाप पद्धतिको प्रवर्द्धन तथा अदालतप्रतिको जनविश्वास अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। आगामी दिनमा पनि प्रभावकारी न्यायसम्पादनका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
अदालतका श्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईले बढ्दो मुद्दाको चापका बाबजुद उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै छिटोछरितो, निष्पक्ष, पारदर्शी र जवाफदेही ढंगले न्यायसम्पादन गरिएको बताए।
अदालतले आयोजना गरेको सम्मान तथा बिदाइ कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेशप्रसाद पोखरेल, जिल्ला सरकारी वकिल कार्यालय झापाका प्रमुख जिल्ला न्यायाधिवक्ता दिपेश प्रताप शाह तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालगायतको उपस्थिति रहेको थियो।
प्रशासन शाखाका अनुसार जिल्ला अदालत झापामा ९ जना न्यायाधीशको दरबन्दी रहेको छ। हालै न्याय परिषद्को निर्णयअनुसार प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेल काठमाडौं जिल्ला अदालत, न्यायाधीश महेन्द्रप्रसाद पोखरेल पर्सा जिल्ला अदालत र न्यायाधीश ऋतबहादुर पुलामी मगर सिराहा जिल्ला अदालतमा सरुवा भएका छन्। उनीहरूको बिदाइसँगै प्रकाश राउत प्रमुख न्यायाधीशका रूपमा तथा टेकनाथ गौतम र पुण्यप्रसाद सापकोटा न्यायाधीशका रूपमा झापा जिल्ला अदालतमा पदस्थापन भएका छन्।
अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी रामचन्द्र बस्नेतका अनुसार न्यायिक सेवाप्रवाहलाई छिटोछरितो, सरल र पारदर्शी बनाउन अदालतले मुद्दाको प्रकृतिअनुसार सरल, सामान्य र विशेष मार्गमा वर्गीकरण, स्वचालित पेशी प्रणाली, इजलास छनोटमा गोलाप्रथा, अनलाइन सुनुवाइ, अनलाइन तारेख लगायतका व्यवस्था लागू गरेको छ। साथै मुद्दाको प्रगति तथा फैसला अदालतको वेबसाइटमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए।


