
झापा, ६ साउन । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको विवादले दुःखद अन्त्य लिएको छ । झै–झगडापछि श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए भने त्यसलगत्तै आफूले पनि आत्महत्याको प्रयास गरेका थिए ।
उपचारका लागि अस्पताल पुर्याइए पनि दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच विवाद भएको थियो । विवादका क्रममा धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो ।
घटनापछि धनबहादुरले घरकै अर्को कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए । उनलाई उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुइँमा झारी उद्धार गरेकी थिइन् । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । दुवै घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो ।
प्रहरीका अनुसार अपराह्न करिब ३ः३० बजे दमक अस्पतालमा चिकित्सकले परीक्षण गर्दा धनबहादुर दर्जी र विजयकुमारी दर्जी दुवैको मृत्यु भइसकेको घोषणा गरेका थिए । त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवहरू सोही अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


