
बुद्धशान्ति, ६ साउन । झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयले असार महिनाका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यालयले असार महिनाभर शैक्षिक, अनुशासन, नेतृत्व तथा विभिन्न क्षेत्रमा प्रदर्शन गरेको उत्कृष्ट कार्यको मूल्याङ्कन गर्दै आज (बुधबार) एक कार्यक्रमका बीच कक्षागत रुपमा नर्सरीदेखि कक्षा–१२ सम्मका विद्यार्थीलाई ‘स्टुडेन्ट अफ द मन्थ’का रुपमा सम्मान गरेको हो । साथै, एक जना उत्कृष्ट विद्यार्थीलाई ‘स्कुल स्टुडेन्ट अफ द मन्थ’ समेत घोषित गरेको छ ।
विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि हौसला, प्रेरणा र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले ‘असार महिनाको उत्कृष्ट विद्यार्थी’ (स्टुडेन्ट अफ द मन्थ) घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीना मिश्र आचार्यको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष मदनकुमार तामाङ, अभिभावक लगायत उपस्थित रहेको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप समिति संयाेजक शिक्षक राम वहादुर वर्देवा गर्नुभएको थियो ।
‘स्टुडेन्ट अफ द मन्थ’ कक्षागत रुपमा नर्सरीकी सान्बी राई, केजीकी प्रिन्सा कार्की, कक्षा–१ का उज्ज्वल पोखरेल, कक्षा–२ का अंश दाहाल, कक्षा–३ की प्रमिशा चौहान, कक्षा–४ का किस्मत कोइराला, कक्षा–५ की सुबी राई, कक्षा–६ की एलिशा खड्का, कक्षा–७ का रमेश खाती, कक्षा–८ की जोस्ना भट्टराई, कक्षा–९ की सेमिना लिम्बू, कक्षा–१० की तुलासा भुजेल, कक्षा–११ की कृति शिवाकोटी र कक्षा–१२ की जनुका गजमेर घोषित भएका छन् ।

‘स्कुल स्टुडेन्ट अफ द मन्थ’का रुपमा भने कक्षा–१२ की जानुका गजमेर घोषित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि वुद्धशान्ति-१ का अध्यक्ष अनिल वाग्लेले उत्कृष्ट सबै विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक तथा व्यक्तित्व विकासका लागि निरन्तर अघि बढ्न शुभकामना व्यक्त गरेका थिए ।

निष्पक्ष ढंगले विद्यार्थी छनोट र मूल्यांकन गर्नका लागि विद्यालयले ‘ए टु जेड’ कार्यक्रम कार्यान्वयन फोकल पर्सन वि.व्य.स सदस्य (शिक्षक प्रतिनिधि) रामकुमार कटुवालको संयोजकत्वमा तहगत इञ्चार्ज र कक्षा शिक्षक सहितको मूल्यांकन समिति रहने व्यवस्था गरेको छ । तहगत इञ्चार्जहरु कक्षा–११/१२ को शिक्षक तिलचन ढुंगेल, कक्षा-९/१० को शिक्षक रामबहादुर बर्देवा, कक्षा-६/८ को शिक्षक रामकृष्ण तिमसिना, कक्षा–४/५ को शिक्षक कमला अधिकारी रिमाल, कक्षा–१/३ इञ्चार्ज सूर्यकुमारी कार्कीडोली र बालविकासतर्फ शिक्षक रचना पुरी व्यवस्था गरेको छ ।


