
झापा, ७ साउन । झापाको दमक नगरपालिका–४ स्थित भाइरल रोडको संगम चोकमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार साउन ६ गते साँझ आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई सामान्य ठक्कर दिएको थियो । ठक्करपछि साइकल अनियन्त्रित हुँदा पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकलयात्री दमक–३ निवासी अन्दाजी ५३ वर्षीय रनबहादुर बिष्ट गम्भीर घाइते भएका थिए । उनको टाउको, दुवै हात र खुट्टामा चोट लागेको थियो भने बोल्न नसक्ने अवस्था भएको थियो । मोटरसाइकल चालक मेचीनगर–८ निवासी ४६ वर्षीय दुर्गा बहादुर बस्नेत पनि निधार, दुवै हात र खुट्टामा चोट लागी मध्यम घाइते भएका थिए ।
दुवै घाइतेको प्रारम्भिक उपचार खरखरे आम्दा अस्पताल, दमकमा गरिएको थियो । त्यसपछि साँझ ६ः२० बजे बिष्टलाई थप उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड र बस्नेतलाई बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । उपचारकै क्रममा साउन ७ गते (आज) बिहान करिब ४ः०० बजे रनबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव हाल बी एण्ड सी अस्पतालमा राखिएको छ ।
दुर्घटनामा संलग्न साइकल, मोटरसाइकल, कार तथा कार चालक मोरङको उर्लाबारी नगरपालिका–७ निवासी ४० वर्षीय नेत्रप्रसाद तिम्सिनालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


