
सन्तोष शर्मा
अर्जुनधारा, ७ साउन । झापाको अर्जुनधारा नगरपालिकाका १८ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनीपुर्जा वितरण गरिएको छ ।
आज नगरपालिकाको सभाहलमा आयोजित ‘जग्गा धनीपूर्जा वितरण कार्यक्रम’का अर्जुनधारा–११ लक्ष्मीधापका १८ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अथिति झापा क्षेत्र नं. २ की सासंद इन्दिरा रानामगर, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर उपप्रमुख खड्गमाया पराजुली लगायतले उनीहरुलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व उपसभामुख समेत रहनुभएकी सांसद रानामगरले भूमिसँग मानिसको भावनात्मक सम्बन्ध रहने भएकाले भूमिको विशेष महत्व हुने बताउनुभयो । “जमिन भनेको आमा समान हुन्छ”, उहाँले भन्नुभयो, “आज धनीपूर्जा पाउनु हुनेले यसको संरक्षण सम्बद्र्धन गर्नुहोला ।”
वर्तमान सरकारले निश्चित समयभित्र भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने योजना अघि सारे बमोजिम काम तीव्रगतिमा अघि बढाइएको भूमि समस्या समाधान समिति अध्यक्ष एवम् झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।
“जिल्लाका १५ वटै पालिकामा भूमि समस्या समाधानको काम तीव्र रुपमा अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “लामो समयदेखि धनीपूर्जा पाउन नसकेकाहरुलाई चाँडोभन्दा चाँडो धनीपूर्जा वितरण गर्नेगरस् काम अघि बढाइएको छ ।”
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले नगर क्षेत्रमा रहेको भूमि समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । “हाम्रौ कार्यकालभित्र सबै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गर्नेगरी लागेका छौं”, उहाँले भन्नुभयो ।
नगरपालिकाको भूमि व्यवस्थापन शाखाले हाल बिदाको दिनमा समेत सेवा प्रवाह गरिरहेको छ । कार्यालय समय ९ बजे भए पनि बिहान ७ बजेदेखि सेवा प्रवाह भइरहेको नगरप्रमुख तामाङले बताउनुभयो ।
“अतिरिक्त सेवा सुविधा बिना बिहान ७ बजेदेखि कर्मचारीहरुले सेवा दिइरहनुभएको छ”, उहाँले भन्नुभयो, “बिदाको दिनमा पनि उहाँहरुले सेवा दिइरहनुभएको छ ।”
कार्यक्रममा स्वागत गर्नुहुँदै उपप्रमुख खड्गमाया पराजुलीले राजस्व दर बढी भएकाले पनि कतिपय तयारी अवस्थामा रहेका धनीपूर्जा वितरण गर्न नसकिएको बताउनुभयो ।
नगरपालिकाले यस अघि एक सय ४४ वटा वितरण भइसकेको उहाँले बताउनुभयो । भूमि सम्बन्धी समस्या समाधानको गर्न पहल उहाँले सांसद रानामगर र प्रमुख जिल्ला अधिकारी गेलाललाई आग्रहसमेत गर्नुभयो ।
अर्जुनधारा–१ मा करिब एक सय २५ धनीपूर्जा वितरणको अवस्थामा रहेको नगरपालिकाका भूमि शाखा प्रमुख चुडामणि निरौलाले जानकारी दिनुभयो । अर्जुनधारा–२ का करिब ४२ परिवारलाई धनीपूर्जा वितरणका लागि अन्तिम अवस्थामा पुगेको बताउनुभयो ।
अर्जुनधारा नगरपालिकामा भूमिहीन दलित दुई सय १२, भूमिहीन सुकुम्बासी सात सय २९ र अव्यवस्थित बसोबासी छ हजार तीन सय ५१ जना रहेको भूमि शाखा प्रमुख चुडामणि निरौलाले बताउनुभयो ।


