
कनकाई, ७ साउन । जननायक विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस कनकाई नगर समितिले कनकाई–५ स्थित वी.पी. वनबाटिकामा रहेको उहाँको शालिकमा माल्यार्पण गर्दै विचार गोष्ठी सम्पन्न गरेको छ।
४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाहको प्रमुख आतिथ्य तथा नगर सभापति दुर्गाप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि पर्शुराम ढुङ्गाना, नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा अध्यक्ष कृष्णबहादुर राईलगायतले वी.पी.को लोकतान्त्रिक योगदानबारे विचार व्यक्त गरेका थिए।
यसै अवसरमा शिवसताक्षीका ११ वटै वडा तथा मेचीनगरका १५ वटै वडामा पनि वृक्षरोपण, रक्तदान र विचार गोष्ठीलगायत विभिन्न कार्यक्रम आयोजना गरिएको सम्बन्धित नगर समितिहरूले जनाएका छन्।
वि.सं. १९७१ भदौ २४ मा जन्मनुभएका वी.पी. कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो। नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा पुर्याएको योगदान आज पनि स्मरणीय मानिन्छ।


