
झापा, ८ साउन । झापामा सात लाख ६१ हजार चार सय ३२ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ मा बखेर् धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी छ प्रकारका सात लाख ६१ हजार चार सय ३२ दशमलव ७८ मेट्रिक टन खाद्यान्न भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले जानकारी दिनुभयो ।
सो अवधिमा चैते धान ८९ हजार छ सय ५५.३ मेट्रिक टन, बखेर् धान तीन लाख ७७ हजार पाँच सय ३४.३५ मेट्रिक टन, मकै दुई लाख ८३ हजार एक सय ८७.८८ मेट्रिक टन, कोदो आठ सय ६९.४७ मेट्रिक टन उत्पादन भएको छ ।
त्यस्तै, फापर तीन हजार सात सय ५८.७ मेट्रिक टन, गहुँ छ हजार चार सय १९ मेट्रिक टन र जौ ८.१ एक मेट्रिक टन उत्पादन भएको कार्यालय प्रमुख बिष्टले जानकारी दिनुभयो ।
यता, पछिल्लो तीन वर्षयता खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख ४३ हजार आठ सय १५ हेक्टरमा बखेर् धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ खेती गरिएको थियो । जसमा यी छ प्रकारका खाद्यान्न आठ लाख ६३ हजार दुई सय ३८.८ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८१÷८२ मा एक लाख ४५ हजार तीन सय २६.०६ हेक्टरमा आठ लाख ५२ हजार २०८.२५ मेट्रिकल खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाको खाद्यान्न बालीहरूको तथ्याङ्क विवरणमा उल्लेख छ ।
यता, चालु आर्थिक वर्ष २०८२÷०८३ मा एक लाख ३० हजार तीन सय ८६ हेक्टरमा सात लाख ६१ हजार चार सय ३२.७९ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।
अघिल्लो वर्षको तुलनामा ती छ बालीको खेतीको क्षेत्रफल १४ हजार नौ सय ४० हेक्टर घटेको छ भने ९० हजार सात सय ७५ मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आएको छ ।


