
भद्रपुर, ८ साउन । झापाको भद्रपुरमा दुई महिनाको शिशुको डायपरभित्र लुकाएर ब्राउन सुगर नेपाल भित्र्याउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीले लागुऔषधसहित दम्पती र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ भने शिशुलाई पनि उनीहरूसँगै उद्धार गरी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बिहीबार साँझ भद्रपुर नगरपालिका–५ बसपार्क क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटोलाई रोक्दै जाँच गरिएको थियो। वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी वरिष्ठ सहायक निरीक्षक निर्मल श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शंकाका आधारमा यात्रुको खानतलासी गरेको थियो।
खानतलासीका क्रममा अटो चालक ३० वर्षीय मोहित आलमका दुई महिनाका छोरा सोहेल आलमले लगाएको डायपरभित्र प्लास्टिकमा बेरिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थको तौल प्लास्टिकसहित ९ ग्राम ८५ मिलिग्राम र प्लास्टिक हटाएपछि ८ ग्राम ९४ मिलिग्राम रहेको छ।
घटनामा चालक मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन र अटोमा सवार ३८ वर्षीय मोहम्मद तजरुललाई पक्राउ गरिएको छ। उनीहरू भारतको किशनगञ्ज घर भई हाल बिर्तामोड क्षेत्रमा बसोबास गर्दै आएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले लागुऔषध, अटो र पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


