
झापा, ८ साउन । भारतबाट भन्सार छलि अवैध रूपमा नेपाल भित्र्याइएको रहु जातको माछा झापाको काँकडभिट्टाबाट बरामद गरी नष्ट गरिएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले विशेष चेकजाँचका क्रममा ८३ केजी रहु जातको माछा बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब निरीक्षक यादव पोखरेलको नेतृत्वमा ९ जना तथा प्रहरी सहायक निरीक्षक बमबहादुर नेपालीको नेतृत्वमा ९ जना गरी १८ सदस्यीय संयुक्त टोलीले उक्त माछा बरामद गरेको जनाएको छ ।
बरामद गरिएको माछाको अनुमानित मूल्य रु २४ हजार ९०० रहेको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी स्थानीय भद्रभलाद्मीको रोहवरमा सशस्त्र प्रहरी गुल्म परिसरभित्र खाडल खनी माछा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।


