
बिर्तामोड, ८ साउन । झापाको बिर्तामोडस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो आठौं कार्यकालमा खानेपानी सेवा विस्तार, पूर्वाधार विकास र प्रविधिमैत्री व्यवस्थापनमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाले आर्थिक वर्ष २०८२÷८३ सम्मको कार्यप्रगति सार्वजनिक गर्दै आगामी योजना र चुनौतीबारे जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाका अनुसार हाल बिर्तामोड नगरपालिकाका १० वटै वडा तथा अर्जुनधारा नगरपालिका–५, ६ र ११ का केही क्षेत्रमा सेवा विस्तार गरिएको छ । तीनवटा ओभरहेड ट्यांकी र थप दुई आयोजना मार्फत करिब ५७५ किलोमिटर पाइपलाइन र ११ हजार धारामार्फत चौबीसै घण्टा शुद्ध खानेपानी वितरण भइरहेको छ । यसबाट करिब एक लाख जनसंख्या प्रत्यक्ष लाभान्वित भएको संस्थाले जनाएको छ ।

आठौं कार्यकालयमा एसियन हाइवे निर्माणका कारण क्षति पुगेका पाइपलाइन प्रतिस्थापन, शनिश्चरे रोड, हर्कलाल मार्ग, महानन्द चोक–माता मन्दिर क्षेत्रलगायत स्थानमा नयाँ पाइपलाइन विस्तार गरिएको छ । साथै, विभिन्न स्थानमा डिप बोरिङ, फिल्टर प्लान्ट, ट्रान्सफर्मर जडान तथा पानी उत्पादन क्षमता वृद्धि गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ ।
संस्थाले गरामनी, सैनिक बजार तथा वडा नम्बर ८ लगायत क्षेत्रमा थप करिब ५२ किलोमिटर पाइपलाइन विस्तार गरी नयाँ उपभोक्तासम्म सेवा पु¥याएको जनाएको छ । प्रत्येक धारामा उपभोक्ता नम्बर सहितको पहिचान प्रणाली लागू गर्नुका साथै सम्पूर्ण पाइपलाइन, भल्भ, चेम्बर, पम्प र प्रशोधन केन्द्रलाई जीआईएस प्रविधिमा आधारित नक्सामा समेट्ने कार्यलाई पनि निरन्तरता दिइएको संस्थाका सचिव पारषमणि न्यौपानेले बताउनुभयो ।

यस्ता छन् आगामी योजना
संस्थाले चालु आर्थिक वर्षमै बसपार्क क्षेत्रमा छैटौं खानेपानी आयोजना सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । त्यस्तै, बिर्तामोड क्षेत्रका अन्य खानेपानी आयोजनालाई क्रमशः एकीकृत गर्दै लैजाने तथा चारपानेदेखि बाह्रदशी–हल्दीबारी सीमासम्म नयाँ सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
संस्थाका मुख्य चुनौती
पत्रकार सम्मेलनमा अध्यक्ष बाँस्तोलाले अव्यवस्थित प्लटिङ, सडक तथा ढल निर्माणका क्रममा पाइपलाइनमा हुने क्षति, तीव्र शहरीकरणका कारण बढ्दो पानीको माग, पुराना पाइपलाइनको मर्मत तथा एसियन हाइवे निर्माणका कारण खानेपानी आपूर्तिमा परेको असर संस्थाका प्रमुख चुनौती रहेको बताए ।
सम्बन्धित निकायसँग समन्वय नहुँदा खानेपानी संरचनामा बारम्बार क्षति पुग्ने गरेको भन्दै उनले पूर्वाधार निर्माणका क्रममा समन्वय आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष बाँस्तोलाले आगामी दिनमा पनि सुरक्षित, गुणस्तरीय र पर्याप्त खानेपानी उपलब्ध गराउन उत्पादन क्षमता वृद्धि, प्रविधिको प्रयोग र सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, संस्थाका गतिविधिलाई आम नागरिकसम्म पु¥याउन सहयोग गरेको भन्दै सञ्चारकर्मीप्रति आभार व्यक्त गरे ।
पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार हर्कलाल गिरी, राजकुमार पोखरेल, मदनगोपाल सुब्वा, राजेन्द्रप्रसाद लिङ्देन, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौला, कोषाध्यक्ष शारदा रिजालसहित पदाधिकारी तथा सदस्य साथै कर्मचारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले गरेको कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए ।


