
झापा, ९ साउन । झापा जिल्ला कारागार भद्रपुरमा क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेकाले दैनिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। ७५० जनाको क्षमता रहेको कारागारमा हाल एक हजार ५८५ जना कैदीबन्दी रहेका छन्।
कारागार प्रशासन प्रमुख रेवन्त भट्टराईका अनुसार हाल कारागारमा ९९९ जना कैदी र मुद्दाको पुर्पक्षका क्रममा रहेका ५८६ जना थुनुवा छन्। उनीहरूमध्ये ७८ जना महिला रहेका छन्।
भद्रपुर कारागारमा विदेशी नागरिकको संख्या पनि उल्लेखनीय छ। प्रशासनका अनुसार हाल १४७ जना विदेशी नागरिक कारागारमा छन्, जसमा भारतका ११८ जना र भुटानका २९ जना रहेका छन्।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दैनिक व्यवस्थापनमा कठिनाइ भइरहेको प्रमुख भट्टराईले बताए। उनले भने, “सीमित स्रोतसाधन र क्षमताका बाबजुद व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सुधारका कामलाई निरन्तर अघि बढाउने प्रयास गरिरहेका छौं।”
भौतिक संरचना साँघुरो हुनुका साथै कैदीबन्दीको अत्यधिक चापका कारण फोहोरमैला तथा ढल व्यवस्थापनमा समेत समस्या देखिएको छ। कारागारबाट निस्कने फोहोर र ढलका कारण आसपासका क्षेत्रमा दुर्गन्ध फैलिने गरेको भन्दै स्थानीयवासीले कारागारलाई सहर बाहिर स्थानान्तरण गर्नुपर्ने माग गर्दै आएका छन्।
यसैबीच, कारागार स्थानान्तरणको प्रक्रिया अघि बढाइएको छ। प्रमुख भट्टराईका अनुसार भद्रपुर–१० स्थित कोशी प्रदेश प्रशिक्षण केन्द्र नजिक रहेको आफ्नै १० बिघा जग्गामा नयाँ कारागार भवन निर्माण गर्ने तयारी भइरहेको छ। त्यसका लागि जग्गा नापजाँच गर्न नापी कार्यालय झापालाई पत्राचार गरिएको उनले जानकारी दिए।
उनले भने, “नयाँ भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य चाँडै अघि बढाउने योजना छ।”
सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत नयाँ कारागार भवन निर्माणका लागि पहिलो चरणमा रु १ करोड ७५ लाख बजेट विनियोजन भइसकेको छ। नयाँ भवन निर्माण भएपछि हाल देखिएको भीडभाड, सरसफाइ तथा व्यवस्थापनसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ।


