
बिर्तामोड, ९ साउन । झापाको बिर्तामोड–२ त्रिशूली चोकबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
शुक्रबार राति करिब ११ बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी बरिष्ठ हवल्दार खमबहादुर थापाको नेतृत्वमा खटिएको क्यूआरटी टोलीले छापा मारेको थियो ।
प्रहरीले बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनीको ग्वालीमा रहेका प्रवेश सहनी र सोही स्थानका २५ वर्षीय किरण शर्मालाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।
बरामद गरिएको पदार्थको तौल गर्दा प्लास्टिकसहित ५ ग्राम २०० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ८४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


