
झापा, ९ साउन । झापाको मेचीनगर नगरपालिका–६ पिङ्की ठ्याक क्षेत्रमा लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।
आज दिउँसो करिब २ः०० बजे लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका झापा अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ वर्षीय विवेक जबेगुलाई पक्राउ गरेको हो।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक विवेक कटुवाल तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठको कमाण्डमा खटिएको टोलीले शङ्काका आधारमा शरीर तलासी लिने क्रममा प्लास्टिकसहित ७ ग्राम ५९० मिलिग्राम तथा प्लास्टिकबाहेक ६ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनले चलाएको प्र.१–०१–०१३ प ५२ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका जबेगुलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।


