
झापा, १० साउन । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषध (ब्राउन सुगर) सहित ५ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले झापाको अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय विवेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर तथा प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरले अर्जुनधारा–९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
मोरङमा अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका–८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। साथै, प्रहरी चौकी रमाइलोले बेलबारी नगरपालिका–११ का २९ वर्षीय रणध्वज राईलाई ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर र प्र.१-०२-०४४ प ११८ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यसैगरी, सुनसरीको प्रहरी चौकी नरसिंहटप्पुले धनकुटा–१ स्थायी घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा बस्दै आएका ३५ वर्षीय मनबहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबैमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


