
झापा, १४ साउन । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बनेको छ। बुधबार युट्रेच्टमा सम्पन्न आफ्नो अन्तिम खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डसँग ५७ रनले पराजित भएको हो।
नेदरल्यान्डले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो। नेपालको ब्याटिङ फेरि एकपटक अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली लगातार चौथो हार बेहोर्न बाध्य भयो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। कप्तान रोहित पौडेलले २६ तथा करण केसीले २३ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यानले ठूलो इनिङ्स खेल्न नसक्दा नेपाल लक्ष्यभन्दा धेरै पछाडि रह्यो।
नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२५ रन बनाएको थियो। उसका लागि नोआ क्रोसले ७० रन र कप्तान स्कट एडवर्ड्सले ५७ रनको महत्वपूर्ण अर्धशतकीय इनिङ्स खेले।
नेपालका बलरमध्ये करण केसी सर्वाधिक प्रभावशाली देखिए। उनले १० ओभरमा मात्र ३० रन खर्चेर चार विकेट लिए। दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक–एक विकेट लिए।
यस हारसँगै नेपाल विश्वकप लिग–२ को आठौँ त्रिकोणात्मक शृङ्खलामा एक खेल पनि जित्न सकेन। यसअघि नेपाल नेदरल्यान्डसँग छ विकेट, नामिबियासँग पहिलो खेलमा आठ विकेट तथा दोस्रो खेलमा तीन रनले पराजित भएको थियो।
प्रतियोगिताको अंकतालिकामा ३१ खेलबाट ३८ अंक जोडेको नेदरल्यान्ड दोस्रो स्थानमा उक्लिएको छ। ३२ खेलबाट २४ अंक जोडेको नेपाल छैटौँ स्थानमा रहेको छ भने ४३ अंकसहित अमेरिका शीर्ष स्थानमा कायम छ।


