
झापा, १९ साउन । झापाको गौरीगञ्ज गाउँपालिका–३ नमुना टोलमा आगलागी हुँदा एक परिवारको भान्सा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार सोमबार राति करिब ११ बजे गणेशलाल महत्तोको टिनको छानो र बाँसको टाटीले बनेको एकतले भान्सा घरमा चुल्होबाट आगो सल्किएर आगलागी भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक देवराज दाहालको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा राति ११ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीका कारण भान्सा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।


