
झापा, १९ साउन । झापामा आर्थिक वर्ष २०८२–८३ मा ६९६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालका अनुसार सबैभन्दा धेरै बिर्तामोडमा ५९८ जना संक्रमित फेला परेका छन्। दमकमा ४३, मेचीनगरमा २५, कमलमा १६, कनकाईमा ६, हल्दिबारीमा ५, झापा गाउँपालिकामा २ र भद्रपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो।
बरालका अनुसार स्क्रब टाइफस संक्रमित किर्नाको टोकाइबाट सर्ने रोग हो। यसबाट उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, खोकी, वान्ता, पखाला, श्वासप्रश्वासमा समस्या हुने र टोकेको स्थानमा कालो दाग देखिने लक्षण देखिन सक्छन्। समयमै उपचार नभए ज्यानसमेत जोखिममा पर्न सक्ने उनले बताए।
खेतबारी, झाडी तथा वन क्षेत्रमा जाँदा लामो बाहुलाको कपडा, उपयुक्त जुत्ता र कीटनाशक मलम प्रयोग गर्न तथा घर वरपरको वातावरण सफा राख्न स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।


