
झापा, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनामा नपरी आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्नेभन्दा बढी परिमाणमा एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग समन्वय गरी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।
यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। नेपाल आयल निगम र ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण र वितरणलाई थप पारदर्शी र व्यवस्थित बनाउने सुधारका कार्य पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
साथै, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत गतिविधिमा संलग्न हुने वा उपभोक्तालाई अनावश्यक सास्ती दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।


