
कनकाई, २२ साउन । झापाको कनकाई नगरपालिकाले आधारभूत तह कक्षा–८ उत्तीर्ण गर्न नसकेका बालबालिकाका लागि वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले दोस्रो पटक साउन १४ गते सूचना प्रकाशित गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा १९ को व्यवस्था अनुसार कक्षा–८ उत्तीर्ण नगरेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा १९ मा कुनै पनि नागरिकले मिति २०७८ वैशाख १ गतेदेखि आधारभूत तह कक्षा–८ उत्तीर्ण नगरेमा सरकारी तथा गैरसरकारी संघ, संस्थाबाट कुनै पनि सेवा, सुविधाबाट वञ्चित गरिने जटिल कानुनी प्रावधान बमोजिम नगरपालिकाले वैकल्पिक कक्षा सञ्चालन गर्न लागेको हो ।
२०६३ असोज २ गतेपछि जन्मिएका उमेर समूहका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
यसअघि नगरपालिकाले त्यस्ता बालबालिकाको प्रारम्भिक नामावली संकलन गरिसकेको भए पनि केही बालबालिकाको नाम छुट्न गएको हुन सक्ने भएकाले उनीहरूलाई तत्काल सम्बन्धित निकायमा जानकारी गराउन नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले छुट भएका बालबालिकालाई सञ्चालन हुने वैकल्पिक कक्षामा सहभागी भई अनिवार्य आधारभूत तह कक्षा ८ उत्तीर्ण गर्ने अवसरको सदुपयोग गर्न अनुरोधसमेत गरेको छ । साथै, कानुनबमोजिम योग्य नागरिक वृत्त वा भत्तासम्बन्धी सेवासुविधा प्राप्त गर्न समेत यो कार्यक्रम सहयोगी हुने नगरपालिकाले जनाएको छ ।
कनकाई नगर क्षेत्रमा हालसम्म कक्षा–८ अनुत्तिर्ण तथा विद्यालय बाहिर रहेको बालबालिकाको संख्या वडा नं. १ मा ८ जना, वडा नं. २ मा १७ जना, वडा नं. ३ मा १६ जना, वडा नं. ४ मा १९ जना, वडा नं. ५ मा १७ जना, वडा नं. ६ मा २९ जना, वडा नं. ७ मा ७ जना, वडा नं. ८ मा १० जना र वडा नं. ९ मा १४ जना यकिन गरिएको छ ।


