
उर्लाबारी, २२ साउन । मोरङको कानेपोखरी ४ का ८ वर्षीय बालक जीव दनुवारको स्थानीय भलुवा बाँधमा डुबेर मृत्यु भएको छ । कानेपोखरी ४ का वडासदस्य प्रदीप राईका अनुसार साथीहरूसँग बिहीबार दिउँसो करिब ४ बजे भलुवा खोलामा पौडी खेल्न गएका स्थानीय बिमल दनुवारका छोरा जीव बेपत्ता हुनुभएको हो ।
जीव राति ८ बजेसम्म घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए । त्यसक्रममा बालकसँगै पौडी खेल्न गएका साथीहरूले उनी खोलाको दहमा डुबेको जानकारी दिएका थिए। त्यसपछि उहाँका हजुरबुवा शुक्रबहादुर दनुवारले खोजी गर्दा सोही बाँधबाट बालकलाई मृत अवस्थामा निकालिएको थियो ।
प्रहरी चौकी रमाइलोबाट प्रहरी नायब निरीक्षक सदानन्दकुमार यादवले बालकको उद्धार गरी पोष्टमार्टमका लागि उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक भीमलाल राईको नेतृत्वमा थप अनुसन्धानका लागि प्रहरीको अर्को टोली खटिएको छ।


