
सन्तोष शर्मा
झापा, २३ साउन । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा ३६ अर्ब ३८ करोड ३० लाख ४२ हजार ९२० रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा व्यापार घाटा १० अर्ब ५५ करोड १९ लाख ७८ हजार ६०० रुपैयाँले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा व्यापार घाटा २५ अर्ब ८३ करोड १० लाख ६४ हजार ३२० रुपैयाँ रहेको थियो ।
आयात र निर्यात दुवै घटे
गत आर्थिक वर्षमा काँकरभिट्टा नाकाबाट हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । तथ्याङ्कअनुसार आयात १८.५१ प्रतिशत र निर्यात ३.९९ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा ६२ अर्ब ६८ करोड ७४ लाख २६ हजार ७०० रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने २६ अर्ब ३० करोड ४३ लाख ८३ हजार ७८० रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
यसअघिको आर्थिक वर्ष २०८१/८२ मा ५१ अर्ब ८ करोड ६५ लाख ८ हजार ६८० रुपैयाँ बराबरको आयात तथा २५ अर्ब २५ करोड ५४ लाख ४४ हजार ३६० रुपैयाँ बराबरको निर्यात भएको थियो ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ७०.४४ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा २९.५६ प्रतिशत रहेको छ । यसले काँकरभिट्टा नाकाबाट हुने व्यापार अझै आयातमुखी रहेको देखाउँछ ।
पेट्रोलियम पदार्थको आयातमा उल्लेख्य वृद्धि
गत आर्थिक वर्षमा पेट्रोल र डिजेलको आयात उल्लेख्य रूपमा बढेको छ । एक वर्षमा १२ अर्ब १८ करोड ७ लाख ६४ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २६.७० प्रतिशतले बढी हो ।
त्यस्तै, ९ अर्ब ५५ करोड ४९ लाख ७ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ, जसमा २६.३९ प्रतिशतको वृद्धि भएको छ ।
यद्यपि, एलपी ग्यासको आयात भने घटेको छ । गत वर्ष २ अर्ब ७७ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.०५ प्रतिशतले कम हो ।
मूल्यका आधारमा आयात हुने प्रमुख वस्तुमध्ये भटमासको पिनाको आयातमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । एक वर्षमा २ अर्ब ८८ करोड ४ लाख ८२ हजार रुपैयाँ बराबरको आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९७.५२ प्रतिशतले बढी हो ।
जुटको आयात ११.७० प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ६६ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको आयात ४ अर्ब ३४ करोड १२ लाख ६१ हजार रुपैयाँ थियो ।
त्यसैगरी, जिप्सन १ अर्ब ४३ करोड ९८ लाख २६ हजार, मुसुरो दाल १ अर्ब ३८ करोड २ लाख ६० हजार, अल्किड रेजिन तथा अन्य पीभीसी रेजिन १ अर्ब ३४ करोड ५७ लाख ६३ हजार, सिमेन्ट क्लिङ्कर १ अर्ब १४ करोड ८१ लाख २९ हजार तथा सिमी÷राज्मा ९० करोड ९७ लाख ७७ हजार रुपैयाँ बराबर आयात भएको छ ।


