
झापा, २५ साउन । सौरमासअनुसार साउनको अन्तिम सोमबार आज बिहानैदेखि झापासहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
आज बिहानैदेखिको झापाको अर्जुनधारा जलेश्वरधाम, कोटीहवन, सताक्षीधाम लगायतका मन्दिरमा भक्तजन बिहानैदेखि जर्लापणका लागि भीड लागेका छन् ।
शिव आराधना र धार्मिक आस्थाको विशेष दिन
हिन्दू धर्मावलम्बीका लागि साउन महिना भगवान् शिवको आराधना र उपासनाका लागि विशेष मानिन्छ। साउन महिनाका सोमबारलाई अझ महत्वपूर्ण दिनका रूपमा लिइन्छ। यस दिन भक्तजनले बिहानै स्नान गरी शिवालयमा पुगेर भगवान् शिवलाई जल, दूध, बेलपत्र, धतुरो तथा फूल अर्पण गरी पूजा–आराधना गर्ने परम्परा छ।
साउने सोमबारका दिन विशेषगरी महिला तथा युवतीहरूले व्रत बस्ने र भगवान् शिवको पूजा गर्ने चलन छ। धार्मिक विश्वासअनुसार साउनको सोमबार व्रत तथा शिव आराधना गर्दा मनोकांक्षा पूरा हुने, पारिवारिक सुख–शान्ति प्राप्त हुने तथा दाम्पत्य जीवन सुखमय हुने विश्वास गरिन्छ।


