
झापा, २५ साउन । मोरङ, झापा र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन २४ गते मोरङको सुनवर्षी नगरपालिका–८ स्थितमा प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय प्रेमबहादुर नेपाली र २५ वर्षीय सुजन धिमाललाई २ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
यस्तै, प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले लेटाङ नगरपालिका–३ का ३८ वर्षीय टंकप्रसाद राईलाई ३ ग्राम २५० मिलिग्राम ब्राउन सुगर र प्रदेश १–०२–०४३ प ९९१६ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको छ।
झापाको भद्रपुर नगरपालिका–५ बाट पनि प्रहरीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर र सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको संयुक्त टोलीले मोरङको विराटनगर महानगरपालिका–६ घर भई हाल झापाको बिर्तामोड नगरपालिका–३ बिर्ताबजारमा बस्दै आएका ३० वर्षीय सञ्जीव सहनीलाई ४ ग्राम ९३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–२ पशुपति चोकबाट दुई जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा मोरङको मिर्गौलिया–९ का ३२ वर्षीय सुमन कार्की र इटहरी उपमहानगरपालिका–२ का २१ वर्षीय सञ्जीप पौडेललाई ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


