
भद्रपुर, २५ साउन । गत असार २७ गते भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की तथा वडाध्यक्षत्रय– बन्धु कार्की, अभिषेक ढुंगाना र गौरव सुब्बा ‘मनोज’ को रोहवरमा गठित भद्रपुर पुस्तकालयको तदर्थ समितिले पूर्णता पाएको छ ।
आज साउन २४ गते स्थानीय प्रेस क्लबको सभाकक्षमा तदर्थ समितिका संयोजक चिन्तामणि दाहालको अध्यक्षतामा भएको सल्लाहकार समिति समेतको संयुक्त बैठकले ९ सदस्यीय कार्यसमितिलाई पूर्णता दिएको हो ।
जसअनुसार, डा. गीता श्रेष्ठ– उपाध्यक्ष, राजबाबु शंकर– सचिव, अजय साहेवाला– कोषाध्यक्ष, डिल्लीरमण नेपाल– सहसचिव एवम् सदस्यहरूमा– वडा न.५ का अध्यक्ष समेत रहनुभएका बन्धु कार्की, धनजुजु श्रेष्ठ, सन्तोष अग्रवाल र नीलम गोयल हुनुहुन्छ ।
पूर्ण बैठकमा भद्रपुरका ८ न. वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’ले भद्रपुर पुस्तकालयका लागि नयाँ भवन निर्माण गर्न भद्रपुर नगरपालिकाले निर्वाह गर्नु पर्ने भूमिका महत्वपूर्ण छ । त्यससँगै संस्थागत र व्यक्तिगत रुपमा विभिन्न दातासँग सहयोग मांग गरेर निर्माण गरिने भवनका विभिन्न कोठा वा हलको अग्रभागमा, मेची अञ्चल अस्पतालमा जस्तै दाताको नाम शिलालेखमा राख्दा दाताको सम्मान हुने सुझाव दिए ।
भद्रपुरमा २००७ सालमा स्थापित यो ऐतिहासिक पुस्तकालयका लागि आवश्यक संरचना निर्माण गर्न भद्रपुर नगरपालिका मार्फत प्रदेश सरकार समक्ष प्रस्ताव लिएर जाँदा प्रदेशबाट समेत सहयोग प्राप्त हुन सक्ने उहाँले बताउनुभयो ।
त्यसैगरी, सल्लाहकार गोविन्द कोइरालाले भद्रपुर पुस्तकालयको पहिलाको बैंक खाता छ/छैन भन्ने प्रश्न गर्दै सामुदायिक पुस्तकालय सम्बन्धी …रिड नेपालÚ नामक एनजीओ.ले पनि समुदाय जोडिएको यस पुस्तकालयका लागि सहयोग गर्न सक्ने जानकारी दिनुभयो ।
पहिला त पुरानो पुस्तकालय भवन भत्काएपछि नयाँ संरचना कहाँ बनाउने, कस्तो बनाउने नगरपालिकाको परामर्शमा निर्णय गरौं । त्यसपछि डिजाइन इस्टिमेट र प्रपोजल बनाएर अघि बढौं । लागिपर्दा काम गर्न असम्भव छैन, गर्न सकिन्छ– सल्लाहकार छत्रप्रसाद अधिकारीको भनाइ रह्यो ।
त्यस्तै, सल्लाहकार दुर्गाप्रसाद भट्टराईले– नगरपालिकाले अपनत्व लिएर संरक्षक, कार्यसमिति, सल्लाहकार सबैले एकीकृत पहल गर्ने हो भने पुस्तकालयको नवनिर्माण र व्यवस्थापन गर्न सकिन्छ । तर, नयाँ भवन निर्माण गर्दा पार्किङ, अपांगमैत्री लगायतका सुविधाको पनि ख्याल गरिनु जरुरी छ भन्दै हाल पुस्तकालय रहेको जग्गा ती सुविधाका लागि पर्याप्त नभएकोले पायक पर्ने नगरपालिकाकै स्वामित्वको अन्य खाली जग्गामा पुस्तकालय स्थापना गर्न ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा …मनोजÚलाई त्यस्तो जग्गाको सुनिश्चितताका लागि सहजीकरण गर्न अनुरोध समेत गर्नुभयो ।
भद्रपुर पुस्तकालयको स्वामित्वको जग्गाको प्रतिलिपि धनीपूर्जा र हालसाविक सहित जग्गाको नक्सा निकाल्न सहयोग गर्नुभएका सल्लाहकार पुरुषोत्तम अधिकारीले पनि पुस्तकालयका लागि हालको जग्गा कम हुने भएकोले हाल पुस्तकालय भवन रहेको जग्गामा भद्रपुर नगरपालिकाले संरचना निर्माण गरी भाडामा दिने र पायक पर्ने उपयुक्त स्थानमा पुस्तकालय भवन निर्माण गरी सञ्चालन गर्ने विकल्प रहेको बताउँदै यो काममा यथाशक्य सहयोग गर्न आफू सदैव तत्पर रहेको प्रतिबद्धता समेत सुनाउनुभयो ।
त्यसैगरी, डा.गीता श्रेष्ठले पनि आजका युवा पुस्तामा पुस्तकालयको महत्व रहेको दर्शाउँदै अन्यत्र नजिकैको उपयुक्त खुला र पर्याप्त ठाउँमा निर्माण गरी पुस्तकालय परिसरलाई ज्येष्ठ नागरिक पार्कका रुपमा समेत विकास गरिए उत्तम हुने सुझाउनुभयो ।
सामाजिक अभियानकर्मी धनजुजु श्रेष्ठले– पुस्तकालय भवन बनाउन हालको स्थान साँघुरो हुने भएकोले अर्को उपयुक्त फराकिलो स्थानमा पुस्तकालय भवनसँगै यस्तो संरचना बनाइनु पर्छ— जहाँ विभिन्न जातजातिका पहिचानका भेषभूषा, बाजागाजा, ऐतिहासिक सामग्री र पुरातात्विक महत्वका वस्तुहरू समेतको एकीकृत कला संग्रहालय पनि रहोस्– भन्ने धारणा राख्दै थप भन्नुभयो– हालको जग्गा बिक्री गरेर पनि त्यसबाट प्राप्त हुने पूँजीबाट नगरपालिकाले उपलब्ध गराउने अन्य उपयुक्त स्थानमा भवन बनाएर पुस्तकालय र निकट भविष्यमा ई–लाइब्रेरीका रुपमा अघि बढाउने सोच विकल्पका रुपमा खुला राखिनु पर्छ ।
साथै, अजय साहेवालाले– पुस्तकालयका जग्गादाताबाट अनुमति पाए मात्र हालको जग्गा बिक्री गरी अन्यत्र नजिकै पुस्तकालय भवन निर्माण गरी व्यवस्थित सञ्चालन गर्न उपयुक्त हुने राय दिँदा यशोदा कँडेल कोइरालाले– बीच बजारस्थित हालको पुस्तकालयलाई शान्त र फराकिलो ठाउँमा सार्न उपयुक्त हुने बताउनुभयो भने सल्लाहकारद्वय राजेश ढुंगाना र शिवकुमार राजभण्डारीले पनि भद्रपुरको पहिचान, चेतना र इतिहाससँग जोडिएको यो ऐतिहासिक पुस्तकालय नयाँ स्वरुपमा अबका दिनमा निरन्तर सञ्चालन गर्न आफ्नो तर्फबाट हुन सक्ने यावत् सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।
बैठकमा प्रस्तुत सुझाव, जिज्ञासा र प्रश्नका सम्बन्धमा संयोजक दाहालले– भद्रपुर पुस्तकालयको विधान, संस्था दर्ता, बैंक खाता हालसम्म फेला नपरेको, फेला परेका केही कागजात र माइन्यूटहरू पनि नगरपालिकालाई बुझाई हाल आफूहरूसित केही नरहेको निवर्तमान कार्यसमितिका अध्यक्ष हुलासचन्द्र सरियाले बताएको सुनाउँदै अब यही साउनभित्रै भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरूकै अगुवाईमा बन्द रहेको पुस्तकालय खोली संस्थासँग सम्बन्धित पुराना कागजात, दस्तावेजहरू रहे, नरहेको– खोजी गरिने योजना रहेको जानकारी दिनुभएको छ ।
हालको १४ सदस्यीय सल्लाहकार समितिको चयन भने साउन ५ गते नगर–प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको बैठकले गरेको थियो । जसमा– दुर्गाप्रसाद भट्टराई, पुरुषोत्तम अधिकारी, दीपक पोखरेल, दिपेश ढकाल, छत्रप्रसाद अधिकारी, शिवकुमार गुप्ता, यामबहादुर श्रेष्ठ, सत्यनारायण तायल, प्राडा. पृथ्वीबिक्रम राई, गोविन्द कोइराला, शिवकुमार राजभण्डारी, यशोदा कँडेल, टीकाराज ढकाल र प्रदीपमणि रेग्मी– हुनुहुन्छ ।
सोही बैठकले पुस्तकालयको प्रमुख संरक्षक भद्रपुर नगरपालिका रहनेगरी पुस्तकालयका लागि श्रेस्ता अनुसार ९ धुर जग्गादाता शिवप्रसाद गुप्ता परिवारका एक जना सदस्य संरक्षक र पुस्तकालयका पूर्वअध्यक्षहरू सबै सल्लाहकार रहने निर्णय पनि गरेको थियो ।


