तोमनाथ उप्रेती
वर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सबै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सबैको दायित्व हो । तर, यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मूल्यको ह्रास हुन थालेको अवस्था छ । यो समस्या नेपाली समाजमा पनि स्पष्ट रुपमा देख्न सकिन्छ । नेपाली समाजको संरचना पछिल्लो दिनहरुमा खलबलिन थालेको छ । समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको भान हुन्छ ।
समाजमा रहेको केही वर्गको क्षणिक स्वार्थ पूरा गर्न मानिसलाई नकारात्मकतर्फ डो¥याउने प्रयास हुँदै आएको छ । समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले समाज अनि सिंगो देशलाई नै असर गर्दछ । त्यसकारण सामाजलाई उचित शिक्षाको माध्यमद्वारा व्यवस्थापन गरी सकारात्क सोचको धनी बनाउन आवश्यक छ ।
नकारात्मकताले नेपालीको मनोविज्ञानलाई तहसनहस बनाउँदै लगेकोले यसको सामाजिक लागत पनि बढ्दै आएको छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता अपनाउनु पर्छ । अन्यथा यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्दछ । दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनु पर्छ अन्यथा समय बितेपछि हतारमा गरेका हरेक कार्यहरु सहानुभूति समान अर्थहीन रहन्छ भन्ने कुरा सोचेर कार्य गर्नुपर्छ ।
एक्काइसौँ शताब्दी मानव इतिहासको सबैभन्दा विकसित युग मानिन्छ । विज्ञान र प्रविधिको अभूतपूर्व प्रगति, कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष अनुसन्धान, जैविक विज्ञान, विश्वव्यापी सञ्चार सञ्जाल तथा आर्थिक वैश्वीकरणले मानव जीवनलाई कल्पनाभन्दा धेरै माथि उठाएको छ । केही दशकअघि असम्भव ठानिएका उपलब्धिहरू आज सामान्य वास्तविकता बनेका छन् ।
मानिसले चन्द्रमासम्म मात्र होइन, मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने योजनासमेत अघि बढाइसकेको छ । कृत्रिम बुद्धिमत्ताले ज्ञान, उत्पादन, स्वास्थ्य, शिक्षा र प्रशासनका परम्परागत सीमाहरू पुनर्परिभाषित गरिरहेको छ । भौतिक सुविधाको विस्तार, उत्पादन क्षमताको वृद्धि र विश्वव्यापी सम्पर्कले मानव सभ्यतालाई नयाँ उचाइमा पु¥याएको छ ।
तर, विडम्बना के छ भने, यही अभूतपूर्व प्रगतिसँगै मानव समाज गम्भीर नैतिक संकटबाट पनि गुज्रिरहेको छ । युद्ध र सशस्त्र द्वन्द्वले लाखौं मानिस विस्थापित भइरहेका छन् । आतङ्कवाद, हिंसा, चरमपन्थ, भ्रष्टाचार, आर्थिक असमानता, साइबर अपराध, घृणाको राजनीति, सामाजिक ध्रुवीकरण, मानसिक तनाव, आत्महत्याको बढ्दो प्रवृत्ति, परिवारको विघटन र वातावरणीय विनाशले मानव अस्तित्वमाथि नै चुनौती खडा गरेका छन् ।
प्रविधिले मानिसलाई एक क्लिकको दूरीमा जोडेको छ, तर हृदयहरूबीचको दूरी झन् बढ्दै गएको अनुभूति हुन्छ । सूचना प्रशस्त छ, तर विवेकको अभाव देखिन्छ; सम्पत्ति बढेको छ, तर सन्तुष्टि घटेको छ; अधिकारको आवाज बुलन्द छ, तर कर्तव्यप्रतिको प्रतिबद्धता कमजोर बन्दै गएको छ ।
रोमन साम्राज्यदेखि आधुनिक विश्वका अनेक शक्तिशाली राष्ट्रहरूको अनुभवले देखाएको छ कि नैतिक आधार कमजोर हुँदा भौतिक समृद्धि पनि दीर्घकालीन हुन सक्दैन । सभ्यताको वास्तविक उन्नति केवल अग्ला भवन, तीव्र आर्थिक वृद्धि, आधुनिक प्रविधि वा शक्तिशाली सैन्य क्षमताले मापन हुँदैन ।
यसको वास्तविक मापन मानिसको चरित्र, समाजको नैतिक स्तर, न्यायप्रतिको प्रतिबद्धता, करुणा, सहिष्णुता, उत्तरदायित्व र आध्यात्मिक चेतनाले गर्छ । भौतिक विकासले जीवनलाई सहज बनाउन सक्छ, तर नैतिक विकासले मात्र जीवनलाई अर्थपूर्ण बनाउँछ । विज्ञानले शक्ति दिन्छ, तर त्यस शक्तिको सदुपयोग गर्ने विवेक मानवीय मूल्य र नैतिकताले प्रदान गर्छ ।
यही कारणले विश्वका महान् चिन्तकहरूले मानव सभ्यताको आधार चरित्रलाई मानेका छन् । अरस्तुले असल राज्य निर्माणका लागि असल नागरिक आवश्यक हुने बताएका थिए । महात्मा गान्धीले साधन शुद्ध भए मात्र साध्य शुद्ध हुन्छ भन्ने सिद्धान्त प्रस्तुत गर्दै नैतिकतालाई राजनीतिको आत्मा माने ।
स्वामी विवेकानन्दले मानवभित्रको दिव्य चेतनाको विकासलाई समाज रूपान्तरणको आधार ठहर गरे । बुद्धले करुणा, मध्यम मार्ग र आत्मानुशासनलाई शान्तिपूर्ण समाजको जग बनाए भने नेल्सन मण्डेलाले क्षमा, सहिष्णुता र नैतिक नेतृत्वद्वारा विभाजित राष्ट्रलाई एकतामा बाँधेर देखाए ।
यी उदाहरणहरूले एउटा साझा सत्य स्थापित गर्छन्, स्थायी परिवर्तन बाहिरी संरचनाबाट होइन, भित्री चेतनाबाट सुरु हुन्छ । आज लोकतन्त्रका धेरै चुनौतीहरू भ्रष्टाचार, दण्डहीनता, सत्ता–दुरुपयोग, संस्थाप्रतिको घट्दो विश्वास, सामाजिक असहिष्णुता, गलत सूचना, घृणामूलक अभिव्यक्ति र स्वार्थकेन्द्रित नेतृत्व राजनीतिक वा कानूनी कमजोरीका मात्र परिणाम होइनन् । यी समस्या मूलतः मानवीय मूल्य, नैतिक संस्कार र आध्यात्मिक चेतनाको क्षयसँग गाँसिएका छन् ।
संविधानले अधिकार सुनिश्चित गर्न सक्छ, कानुनले अपराधलाई दण्डित गर्न सक्छ, र संस्थाले शासन सञ्चालन गर्न सक्छन्; तर कुनै पनि कानूनले इमानदारी, करुणा, सहिष्णुता, आत्मसंयम, सेवा भावना वा उत्तरदायित्वलाई जबर्जस्ती स्थापित गर्न सक्दैन । यी गुण शिक्षा, संस्कार, परिवार, सामाजिक अभ्यास र आध्यात्मिक आत्मबोधबाट विकसित हुन्छन् । त्यसैले लोकतान्त्रिक समाजको दिगो निर्माणका लागि कानूनभन्दा पहिले चरित्र, संस्थाभन्दा पहिले संस्कार, अधिकारभन्दा पहिले कर्तव्य र शक्तिभन्दा पहिले नैतिक उत्तरदायित्व आवश्यक हुन्छ ।
यस परिप्रेक्ष्यमा मानवीय मूल्य, नैतिकता र अध्यात्मवाद कुनै धार्मिक वा दार्शनिक अवधारणा मात्र होइनन् यी सभ्य समाज, उत्तरदायी नागरिक, सुशासन, सामाजिक न्याय र दिगो लोकतन्त्रका जीवन्त आधारस्तम्भ हुन् । मानवीय मूल्यले मानिसलाई मानव बनाउँछ, नैतिकताले उसको आचरणलाई मर्यादित बनाउँछ र अध्यात्मवादले आत्मकेन्द्रित सोचलाई लोककल्याणतर्फ उन्मुख गराउँछ ।
यी तीनै तत्वको समन्वयले व्यक्तिलाई जिम्मेवार बनाउँछ; समाजलाई न्यायपूर्ण र सहिष्णु बनाउँछ; तथा राष्ट्रलाई सभ्य, समुन्नत र विश्वसनीय बनाउँछ । त्यसैले लोकतान्त्रिक समाजको भविष्य केवल प्रविधिको विकासमा होइन, मानव चेतनाको परिष्कारमा निर्भर छ ।
लोकतान्त्रिक समाज निर्माणका लागि समाज सञ्चालकलाई स्वच्छ, सक्षम, विश्वसनीय, जवाफदेही, पारदर्शी र नतिजामूलक बनाउनु आवश्यक छ । यसका लागि सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यहरूको कार्यान्वयन गर्नुपर्ने छ । अहिले प्रशासनमा नातावाद, कृपावाद र चाकरी जस्ता विकृतिहरू छन् जसले सार्वजनिक क्षेत्रलाई कुरुप बनाइदिएको छ ।
यसबाट मुलुकलाई बचाउँदै, राज्य व्यवस्था सञ्चालनमा गतिशीलता ल्याउन र नागरिकहरूको भविष्य उज्जवल बनाउन मानवीय मूल्य, मूल्यमा आधारित शिक्षा, नैतिक शिक्षा र अध्यात्मवादको योगदान अत्यन्त महत्वपूर्ण छ । यसले सामाजिक न्याय, विकास र समृद्धिको सपना पूरा गर्न मद्दत पु¥याउँछ ।
(लेखक कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुनुहुन्छ)


